संविधानसभामा सभासद्वारा संशोधन प्रस्ताव प्रस्तुत गर्न सुरु
काठमाडौँ, भदौ २२ गते । संविधानको परिमार्जित विधेयकमाथि संविधानसभाको बैठकमा मङ्गलबारदेखि सभासदहरूबाट संशोधन प्रस्ताव प्रस्तुत गर्न सुरु भएको छ ।
संविधानसभा सचिवालयका अनुसार सो विधेयकमाथि ५४ जना सभासदले संशोधन प्रस्ताव दर्ता गराउनुभएको थियो ।
पहिलो नम्बरमा संशोधन प्रस्ताव दर्ता गराउनुभएका समाजवादी जनता पार्टीका प्रेमबहादुर सिंहले सहमतिका आधारमा संविधान जारीका लागि एकताबद्ध हुन आग्रह गर्दै विभिन्न धारामा आफ्नो ४५ बुँदे संशोधन प्रस्ताव प्रस्तुत गर्नुभयो ।
उहाँले संशोधन प्रस्तावलाई सम्पत्तिका रूपमा ग्रहण गर्दै सहमतिका आधारमा संविधान ल्याउन जोड दिनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहराले संविधानसभाभित्रै छलफल भएर विधेयक तयार गर्न पाएको भए राम्रो हुन्थ्यो भन्दै लोकतान्त्रिक आन्दोलनमा माग नगरिएको धर्मनिरपेक्षतालाई विधेयकमा राखिएकाले मुलुकमा नयाँ द्वन्द्व निम्तिनसक्ने बताउनुभयो ।
उहाँले चार ठूला दलका नेता बसेर विज्ञको सल्लाह नलिई सङ्घीयताको खाका बनाइएकाले असन्तुष्टिका आवाज बढेको बताउनुभयो ।
उहाँले हालको प्रस्तावित ५ नं. प्रदेश अन्तर्गत एकीकृत नवलपरासीसहित बर्दियासम्मको अर्काे प्रदेश बनाउन सकिएमा विद्यमान समस्याको समाधान हुने प्रस्ताव गर्नुभयो ।
संयुक्त संशोधनका संशोधनकर्ता राष्ट्रिय जनमुक्ति पार्टीका शिवलाल थापाले धर्मनिरपेक्षताको मूल मर्मलाई व्याख्या नगरी यथावत् राख्न प्रस्ताव राख्दै आफ्नो पार्टीको संशोधन प्रस्ताव प्रस्तुत गर्नुभयो ।
सोही पार्टीका सीमाकुमारी विकले सरकारी कामकाजको भाषा परिवर्तन गरिनुपर्ने, लोकसेवा आयोगका काम कर्तव्य, निर्वाचन आयोगको प्रमुख तथा अन्य आयुक्तको नियुक्ति गर्दा समावेशी नीति अपनाउनुपर्ने बताउनुभयो ।
उहाँले मौलिक हकमा आदिवासी जनजातिलाई आत्मनिर्णयको हक थप गर्न, उनीहरूलाई नीति निर्माण तहमा समावेश गर्न छुट्टै नीति तयार गर्न, आदिवासी महिलालाई पहिचानको अधिकार थप गर्न, नौ प्रदेशको व्यवस्था हुनुपर्ने संशोधन प्रस्ताव प्रस्तुत गर्नुभयो ।
दलित जनजाति पार्टी नेपालका यशोदाकुमारी लामाले ‘गौतम बुद्ध नेपालमा जन्मेका हुन’् भन्ने कुरालाई प्रस्तावनामा नै समावेश गर्न र राष्ट्रिय झण्डा, राष्ट्रिय जनावर परिवर्तन गर्न संशोधन प्रस्ताव राख्नुभयो ।
उहाँले समानताको हक परिवर्तन गर्न माग गर्दै सबैका लागि संविधान बनाउनुपर्छ भन्नुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेपालका अध्यक्ष कमल थापाले संविधान निर्माणको अन्तिम चरणमा संविधानसभा प्रवेश गरिरहेको अवस्थामा तराई मधेसका दलहरू संविधानसभाबाट बाहिर निस्कनु दुःखद् भएको बताउनुभएको छ ।
उहाँले आपूm औपचारिकताका लागि मात्र रोष्टममा उभिएको जानकारी दिनुभयो ।
नेपाः राष्ट्रिय पार्टीका लक्ष्मण राजवंशीले तीन दलको मिलेमतोमा संविधान बन्न लाग्नु दुःखद् भएको भन्दै राष्ट्र भाषाको व्यवस्था परिवर्तन गर्न संशोधनको प्रस्ताव प्रस्तुत गर्नुभयो ।
संविधानसभाको मङ्गलबारको बैठकमा सात जना सभासदले संविधानको परिमार्जित विधेयकमाथि संशोधन प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
संविधानसभाको बैठक भोलि बिहान १०ः३० बजे बस्नेछ ।
Comments
Post a Comment