असार २६, काठमाडौं । रसियामा जारी फिफा विश्वकप फुटबलमा आजदेखि सेमिफाइनलका खेल हुँदैछन् । पहिलो सेमिफाइनलमा आज बलिया टिम बेल्जियम र फ्रान्स भिड्दैछन् । यस खेललाई विश्वकप फाइनलअघिको फाइनलका रूपमा हेरिएको छ । अर्थात्, यसै खेलको विजेतालाई उपाधिको मुख्य दाबेदारका रूपमा हेरिएको छ ।
रसियाको क्रिस्तोभस्की रंगशालामा हुने खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । प्रतियोगितामा रहेका टोलीमध्ये सबैभन्दा ठूला र स्टार खेलाडीबीचको भिडन्त आजको खेलमा हेर्न पाइने छ ।
खास गरी गोल्डेन जेनेरेसनबाट गुज्रिरहेको स्वर्णिम बेल्जियमले फ्रान्सविरुद्ध ऐतिहासिक जित निकाल्ने योजनामा छ । ऊ पूर्वविश्वविजेता फ्रान्सलाई हराएर उपाधिनजिक पुग्ने अभियानमा छ ।
आजको खेलमा क्वार्टरफाइनलमा उरुग्वेविरुद्ध राम्रो खेल्न नसकेका फ्रान्सका ओलिभर जिरुडले सुरुआती टोलीमै स्थान पाउने सम्भावना छ ।
यता, बेल्जियमका लागि थोमर मुनियरले दोहोरो पहेंलो कार्डका कारण आजको खेल गुमाउनेछन । उनको अनुपस्थितिमा आज बेल्जियमको रक्षापंक्ति केही फितलो हुन सक्नेछ । आजको खेलमा प्रशिक्षक रोबेर्टो मार्टिनेजले ब्राजिल विरुद्धकै फर्मेसनलाई उतार्ने सम्भावना छ । उक्त खेलमा उनले ३–४–२–१ को फर्मेसनलाई प्रयोग गरेका थिए ।
फ्रान्स र बेल्जियम हालसम्म कूल ७४ पटक एकअर्काविरुद्ध भिडेका छन् । फ्रान्सले अन्तर्राष्ट्रिय स्तरमा सबैभन्दा धरैपटक खेलेको टिम नै बेल्जियम हो । तर, विश्वकपमा भने यी दुई टिम मात्रै दुईपटक भिडेका छन् ।
त्यसमा दुवैपटक फ्रान्स विजयी भएको छ । सन् १९८४ को युरोपियन च्याम्पियनसिपमा फ्रान्सले बेज्लियमलाई ५–० को फराकिलो हार चखाएको थियो । अहिलेसम्मका खेलमा बेल्जियमले ३० पटक जितेको छ भने २४ पटक फ्रान्सले बाजी मारेको छ ।
आजको खेलमा बेल्जियमका कप्तान इडेन हाजार्ड, रोमेलु लुकाकु, डि ब्रुने मुख्य केन्द्रमा हुनेछन् । यता, फ्रान्सका तर्फबाट एन्टोनी ग्रीजम्यान, केलियन एमबाप्पे, पाउल पोग्बालगायत खेलाडी केन्द्रमा हुनेछन् । खेल नेपाली समयअनुसार आज राति ११ः४५ बजेदेखि सुरु हुनेछ ।
Comments
Post a Comment